Tuesday, December 27, 2016

सेनाले विस्फोटक प्लान्ट किन्दै


काठमाडौं: नेपाली सेना र उद्योग मन्त्रालयले मकवानपुरको सुनाचुरीस्थित इमल्सन प्लान्टले उत्पादन गर्दै आएको विस्फोटक पदार्थ पर्याप्त नभएको भन्दै थप प्लान्ट खरिद प्रक्रिया अघि बढाएको छ । प्लान्ट खरिदका लागि नेपाली सेना कल्याणकारी कोष र उद्योग मन्त्रालयले एलसीसमेत खोलिसकेका छन् ।
रक्षामन्त्री बालकृष्ण खाँडले विस्फोटक पदार्थमा आत्मनिर्भर हुन थप लगानी आवश्यक भएको भन्दै सरकारले यसका लागि आवश्यक पर्ने सबै व्यवस्था गर्ने बताए । 'पूर्वाधार निर्माणमा अत्यावश्यक विस्फोटक पदार्थ उत्पादनका लागि क्षमता वृद्धि गर्नुपर्ने देखिएको छ', खाँडले अन्नपूर्णसँग भने, 'कच्चा पदार्थ ल्याएर नेपालमै उत्पादन गर्न सके ठूलो परिमाणमा विदेशी मुद्रामा भुक्तानी गर्नु पर्दैन ।'
विस्फोटक पदार्थ उत्पादनको अवस्था र त्यसको क्षमता वृद्धि गर्नेबारे निरीक्षणका लागि रक्षामन्त्री खाँड, प्रधानसेनापति राजेन्द्र क्षेत्री, रक्षासचिव श्रीधर सापकोटालगायत सेनाका उच्च अधिकारी आइतबार सुनाचुरी पुगेका थिए ।
सुनाचुरीमा विस्फोटक उत्पादन गर्ने एउटामात्र प्लान्ट कच्चा पदार्थ अभावमा बन्द छ । विस्फोटक पदार्थ उत्पादनका लागि आवश्यक कच्चा पदार्थ भारतबाट आयात हुँदै आए पनि प्राविधिक समस्याका कारण केही समयदेखि रोकिएको सैनिक स्रोतले बतायो ।
नयाँ प्लान्ट खरिद प्रक्रियामा कल्याणकारी कोष र उद्योग मन्त्रालयको संयुक्त लगानी छ । उत्पादन रोकिएको र भण्डारण पनि नभएपछि विकास निर्माणका लागि विस्फोटक पदार्थ अभाव देखिएको छ । 'प्राविधिक समस्याले कच्चा पदार्थ आउन रोकिएको थियो,' सैनिक स्रोतले भन्यो, 'कच्चा पदार्थ आउने बाटो खुलिसक्यो । आउनेबित्तिकै उत्पादन थाल्छौं ।' 'एम्युनियम नाइट्रेड' अभावमा विस्फोटक पदार्थ उत्पादन हुन नसकेको सैनिक स्रोतले बताएको छ । अहिले भएको इमल्सन प्लान्टले एक हजार दुई सय मेट्रिकटन विस्फोटक पदार्थ मात्र उत्पादन गर्ने क्षमता राख्छ । नेपालमा दुई हजारदेखि चार हजार पाँच सय मेट्रिक टन विस्फोटक पदार्थ आवश्यक पर्दछ ।
मागअनुसार विस्फोटक पदार्थ उत्पादन गर्न नसकेपछि उद्योग मन्त्रालय र सैनिक कल्याणकारी कोषले थप एउटा इमल्सन प्लान्ट खरिद गर्ने प्रक्रिया अघि बढाएका हुन् । सुनाचुरी इमल्सन प्लान्टबाट उत्पादन गर्दै आएको विस्फोटक पदार्थ पूर्वाधार निर्माण, जलविद्युत्, सडक निर्माणका लागि प्रयोग हुँदै आएको छ ।
नेपाली सेनाले उत्पादित विस्फोटक पदार्थ नेपाल सरकारको स्वीकृतिमा परियोजना निर्माणका लागि दिँदै आएको छ । सम्बन्धित परियोजनाका लागि आवश्यक विस्फोटक पदार्थ परियोजना सञ्चालन भएको जिल्ला प्रशासन कार्यालयले सिफारिस गरेपछि सम्बन्धित मन्त्रालयले स्वीकृत दिन्छ ।
Source: Annapurna post

No comments:

Post a Comment